सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

। फोटो स्रोत ।
२०७६ कार्तिक ३०, ०६:१५ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डाक्टर कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो। 

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्व सम्पादक समेत हुन्। थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन। प्रधानमन्त्री ओलीले शुक्रबार नै प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गरेको थियो।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन्।
 

कमेन्ट लोड गर्नुस