सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन

२०७६ कार्तिक २८, ०७:५३ खबर संवाददाता

प्रदेशसभा अन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ। भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गत विभिन्न चार महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएको हो। बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममा निर्धारण गरिएको बजेट खर्च, वित्तीय एवं भौतिक प्रगतिका सम्बन्धमा महाशाखा प्रमुखहरुसँग छलफल भएको थियो।

समितिका सदस्यहरुले योेजना कार्यान्वयनमा देखिएको ढिलासुस्ती र गुणस्तरीय सेवा भए÷नभएकोबारे जिज्ञासा राखेका थिए। प्रदेशसभा सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले कानूनी प्रक्रिया र कर्मचारी व्यवस्थापनका कारण काममा ढिलाइ भए पनि अब कामले तीव्रता पाउने बताए।

समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेशसभा सदस्यहरु वीरबहादुर राना, नारायणप्रसाद आचार्य, धर्मबहादुरलाल श्रीवास्तव, फकरुद्धिन खान, तारा जिसी, लौटी थारूले प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुको प्रगतिबारे जिज्ञासा राखेका थिए। बैठकले आगामी मङ्सिर १९ गतेदेखि प्रदेश सरकारद्वारा सञ्चालित आयोजनाहरुको अनुगमन गर्ने निर्णयसमेत गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस