सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

२०७६ कार्तिक २७, ०५:४२ खबर संवाददाता

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीले जनाएका छन्। बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिन पुगेको उनीहरुको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बुधबार त्यहाँको वायु प्रदूषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५ सय पुगेको बताइएको छ। 

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो। एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो। हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको ती समाचारमा बताइएको छ। बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीले जनाएका छन्। उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआइलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ। त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआइलाई कमजोर मानिन्छ। 

त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआइलाई अतिकमजोर र ४०० देखि ५०० एक्युआइलाई कडा अर्थात एकदमै खराब मानिन्छ। अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रमा सङ्कटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ। वायु प्रदूषणको यस्तो अवस्थाका कारण त्यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचार आइरहेका पनि समाचारमा जनाइएको छ। 

नयाँ दिल्ली र यहाँको वरपरको बस्तीसमेतमा समस्या देखिन थालेको छ। विगतका केही हप्तादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्य ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुको परिपुर्तिसमेत अप्ठेरो परिरहेको छ। भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षजस्तै यस पटक पनि चिसो मौसमको शुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो। त्यहाँकोे वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालय पनि बन्द गरिएको बताइएको थियो। 

यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ। उनीहरुमा फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो। त्यसैगरी सबै नागरिकलाई पनि स्वासप्रस्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुनसक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ। यस मौसममा नयाँ दिल्लीको आकाशमा सवारीसाधनको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगबाट निस्किएको प्रदूषित मात्राका कारण यहाँको वायु प्रदुषित हुने गरेको बताइएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदूषण हटाउन आवश्यक पहल गरिएको बताएका छन्। दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा २० गुणासम्म बढी भेटिएको स्वास्थ्य अधिकारीले जनाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा वायु प्रदूषण हुनलागेको धेरै वर्ष भएको यहाँका अधिकारीले जानकारी दिएका छन्।

त्यहाँका मौसमविद्ले पनि प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन्। नयाँ दिल्लीको जनसङ्ख्या चार करोड ५० लाख रहेको छ। भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ। नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। सवारी साधनबाट हुने प्रदूषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदूषण घट्न नसकिरहेको बताइएको छ।

यातायातका साधनबाट निस्किने धुवाँ, अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो। रासस
 

कमेन्ट लोड गर्नुस