सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

२०७६ कार्तिक २७, ०३:४६ खबर संवाददाता

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ। इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डर विरुद्ध मङ्गलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। इस्लामिक जिहादले बुधबार मारिएका दुई व्यक्तिमध्ये एक जना आफ्ना सदस्य रहेको दाबी गरेको छ। 

इस्लामिक जिहाद समूहले प्यालेस्टिनी गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरेको भन्दै बुधबारदेखि जिहाद विरुद्ध कारबाही थालिएको इजरायली सेनाले जानकारी दिएको छ। जिहाद समूहले प्रयोग गरिरहेको रकेट प्रक्षेपण स्थललाई ध्वस्त पारिएको इजरायली सेनाले दाबी गरेको छ। 

इजरायली हवाई आक्रमणअघि गाजासँग सीमा जोडिएका इजरायली शहर आश्केलोन र नेटिभोटमा हवाई साइरन बजाइएको थियो। इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इस्लामिक जिहादका कमान्डर बाहा अबु अल–आटा मङ्गलबार मारिएसँगै गाजाबाट इजरायलतर्फ दुई सय भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए, तर ती आक्रमणबाट इजरायलतर्फ कुनै क्षति पुगेको छैन। गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्रमध्ये झण्डै ९० प्रतिशतलाई आकाशमै नष्ट पारिएको इजरायली सेनाले बताएको छ। रासस
 

कमेन्ट लोड गर्नुस