सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा चिडिया खाना निर्माणका लागि डीपीआर बन्यो

२०७६ कार्तिक २७, ०१:४१ खबर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चिडिया खाना निर्माणका लागि डीपीआर तयार गरेको छ। नगरपालिकाले गत आर्थिक वर्षमा १० लाखको लागतमा कृष्णपुर चिडिया खाना नाम प्रस्ताव गर्दै डीपीआर तयार पारेको हो।

कृष्णपुर नगरपालिका वडा नम्बर ६ को सिँहपुर सामुदायिक वनको दुई लाख ८७ हजार छ सय १२ वर्गमिटर अर्थात २७ दशमलव ८१ हेक्टर क्षेत्रफलमा चिडियाखाना निर्माणका लागि डीपीआर तयार भएको नगरपालिकाले जनाएको छ।

चिडियाखाना निर्माणका लागि ७७ करोड ३० लाख आठ हजार सात सय २९ रुपैँया लागतको अनुमान गरिएको छ। राष्ट्रिय गौरवको चिडियाखाना निर्माणका लागि प्रस्ताव स्वरुप डीपीआर तयार भएको कृष्णपुर नगरपालिका प्रमुख कर्णबहादुर हमालले बताए। 

सुदूरपश्चिमको तराईका जिल्लामा पाईने सबै जनावरलाई राख्न मिल्ने गरी चिडिया खाना निर्माणको दीर्घकालीन योजनाका साथ डीपीआर तयार भएको नगर प्रमुख हमालले बताए। अहिले पनि सामुदायिक वनमा निलगाई, चित्तल, बदेल लगायतका जनावरहरु छन्।

उनीहरुको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माणको डीपीआर तयार भएको हो। राष्ट्रिय गौरवको रुपमा चिडीयाखानाको योजनालाई अगाडी बढाने नगरपालिकाले बताएको छ। सामुदायिक वनमा वैज्ञानीक वनको कार्यक्रम पनि सुचारु भएकाले चिडिया खाना निर्माणका लागि सहज हुने नगर प्रमुख हमालको विश्वास छ। 
 

कमेन्ट लोड गर्नुस