सुदूर नेपाललाई विश्वसँग जोड्दै

कूटनीतिक माध्यमबाट समाधान खोज्छौंः परराष्ट्रमन्त्री ज्ञवाली

२०७६ कार्तिक २६, ०२:१७

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन ।  संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति बैठकमा सोमबार ज्ञवालीले भारतले नेपालको पश्चिमी सीमा नाका लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत स्थानमा गरेको अतिक्रमण गलत भएको प्रस्ट्याए । 

उनले आवश्यक परे प्रधानमन्त्रीस्तरमा राजनीतिक संवाद गर्ने विकलप खूला रहेको बताएका छन्। सीमा अतिक्रमण भएको विषयमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश सचिव विजयशेखर गोखलेसँग दुईपक्षीय वार्ता गरिसकेको मन्त्री ज्ञवालीले समितिलाई जानकारी गराए ।

भारतले सबैभन्दा पहिले सचिवस्तरीय संयुक्त संयन्त्रले टुंगो लगाएपछि मात्र अन्य काम गर्नुपर्नेमा एकलौटी रूपमा नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्नु गलत भएको मन्त्री ज्ञवालीले बताए । 

‘अन्तर्रा्ष्ट्रिय कानुनअनुसार पनि एकतर्फी रूपमा नक्सा निकाल्न मिल्दैन,’ उनले भने, ‘भारतले दुवै मुलुकले सुल्झाउन बाँकी समस्यालाई नजरअन्दाज गर्न मिल्दैनथ्यो ।’ नेपाल र तत्कालीन ब्रिटिस भारतबीच भएको सुगौली सन्धि र त्यसपछिका सम्झौतालाई आधार मान्दासमेत प्रस्ट रूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको रहेको उनको भनाइ छ ।

सीमा अतिक्रमणको विषयलाई सरकारले छिटोभन्दा छिटो कूटनीतिक तहमा समाधान गर्नुपर्ने समितिकी सभापति पवित्रा निरौला खरेलले बताइन् । सुगौली सन्धिमा नेपाल र भारतबीचको सिमाना काली नदी उल्लेख भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताए । ‘हामीले प्रमाण जम्मा गरेका छौं । 

त्यसलाई निकालेर प्रस्ट रूपमा देखाउनुपर्छ,’ उनले भने । सीमा अतिक्रमणले नेपाली संवेदनामा ठेस पुगेको र यसले भारतप्रतिनकारात्मक भावना बढ्ने उनको भनाइ छ ।

भारतीय पक्षले सीमा क्षेत्रमा २ देखि ३ किलोमिटरमा सीमा सुरक्षा बल राखेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले नेपालतर्फ त्यस्तो संरचना कम भएको स्विकारे ।
 

कमेन्ट लोड गर्नुस