प्रदेश नम्बर ५ को केन्द्र दाङ बन्छ : प्रचण्ड

खवर संवाददाता
२०७६ कार्तिक २०, १२:०८
अ+

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बरं ५ को केन्द्र दाङ बन्ने बताएका छन्। उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारेका छन्।

प्रेस सङ्गठनले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे। । अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको बताए । “सरकारले लचिलो भएर मात्रै उहाँहरूलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो।”

उनले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आएको बताए “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उनल ेभने, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।” नेकपा दाङले तुलसीपुरमा आयोजना गर्ने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी दाङ आएका हुन्। 
 
नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आएका छन्। नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो। प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ । रासस