सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुडिरहेको रेलमा आगलागी, मृत्यु हुनेको संख्या ६० पुग्यो

२०७६ कार्तिक १४, ०५:३२ खबर संवाददाता

पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठीभन्दा बढी यात्रुको मृत्यु भएको छ। यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीले जानकारी दिएका छन्। पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेस रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ। 

रेलका कुनै यात्रुको साथमा रहेको ग्यास सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी भएको हुन सक्ने अनुमान गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् तर यसको आधिकारिक पुष्टि भने भएको छैन। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका तीन वटा डब्बा जलेका छन्। आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ। 

यस घटनामा घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का गरिएको पनि छ। रासस
 

कमेन्ट लोड गर्नुस