सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब ट्विटरमा राजनीतिक प्रचार गर्न नपाइने

२०७६ कार्तिक १४, ११:३६ खबर संवाददाता

सामाजिक सञ्जाल ट्विटरले राजनीतिक प्रचारलाई प्रतिबन्ध लगाउने भएको छ । राजनीतिक सम्मान किन्नेभन्दा कमाउनुपर्ने विषय भएको भन्दै ट्विटरले आउँदो नोभेम्बर २२ देखि राजनीतिक प्रचारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ट्विटरका प्रमख प्रशासकीय अधिकृत ज्याक डोर्सीले व्यवसायिक प्रयोजनका लागि इन्टरनेटका माध्यमबाट गरिने प्रचार अति शक्तिशाली र प्रभावकारी भए पनि यस्तो खालको शक्ति र प्रभावले राजनीतिमा गम्भीर चुनौती ल्याउने बताएका छन्। ट्विटरले यससम्बन्धी थप विवरण नोभेम्बर १५ सम्ममा जारी गर्ने पनि उल्लेख गरेको छ। 

ट्विटरको यो निर्णयले अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि प्रचार अभियानलाई विभाजित गरेको छ। यो निर्णय राष्ट्रपति ट्रम्प र कन्जर्भे्टिभ पार्टीलाई चुनावको प्रचार गर्न चुप लगाउने प्रयास स्वरुप रहेको ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्केलले आरोप लगाएको बीबीसीले जनाएको छ।

तर डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका जो बाइडेन पक्षले भने प्रजातन्त्रको रक्षाका लागि यो राम्रो निर्णय रहेको प्रतिक्रिया दिएका छन्। यद्यपि सामाजिक सञ्जाल फेसबुकले भने भर्खरै मात्र राजनीतिक विज्ञापनको प्रचारमाथिको प्रतिबन्ध हटाएको थियो। 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने आफ्नो कम्पनीको नियमको बचाउ गर्दै भनेका छन, ‘प्रजातन्त्रमा निजी कम्पनीहरुले राजनीतिज्ञ र समाचारलाई प्रतिबन्ध लगाउनु उचित हुँदैन।’

कमेन्ट लोड गर्नुस