सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा आँधीका कारण ५ जनाको मृत्यु

२०७६ असोज २६, १०:१३ खबर संवाददाता

जापानमा आएको ठूलो आँधीले कम्तीमा ५ जनाको मृत्यु भएको छ भने, ९० भन्दा बढी घाइते भएका छन्। आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ। राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

वर्षापछि आएको पहिरोले घर नै बगाएको छ, जसमा २ जनाको मृत्यु भएको छ। बाढीले घर बगाउँदा टोमिकोमा एक पुरुष र टोकियो नजिकैको सागामिहारामा एक महिलाको मृत्यु भएको बताइएको छ। कावासकीको अपार्टमेन्ट, टोचिगी र चिवामा १र१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

क्योडो न्युज एजेन्सीका अनुसार, आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। ११ बेपत्ता भएको सरकारी अधिकारीहरूको बताएका छन्। इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ। आँधीको गति अहिले दुई सय २५ किलोमिटर प्रतिघण्टा रहेको बीबीसीले जनाएको छ।

आँधीले जापानको अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। एनएचकेका अनुसार, २ लाख ७० हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ। हवाई तथा सडक आवागमन पनि आँधीले प्रभावित पारेको छ। शक्तिशाली आँधीले थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ। समाचारहरूमा जनाइअनुसार, आँधी प्रभावित क्षेत्रका ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा अहिले आश्रय लिइरहेका छन्।

सहर तथा गाउँमा आँधीसँगै भारी वर्षा भइरहेको र यो क्रम केही समय जारी रहने सरकारी अधिकारीहरूले बताएका छन्। जेएमएका यासुसी कजिवाराले सम्भावित क्षति हुन नदिन आपतकालील चेतावनी जारी गरिएको जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस