सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीमाथि छुरा प्रहार

२०७६ असोज २४, ०६:२७ खबर संवाददाता

इन्डोनेसियाका सुरक्षामन्त्री विरान्तोमाथि छुरा प्रहार गरिएको छ। आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आवद्ध दुई व्यक्तिले बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ। इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्ता्स्थित अस्पतालमा भर्ना गरेर आपत्कालीन उपचार गरिएको छ।

सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुईजनालाई पक्राउ गरिएको सञ्चार माध्यमले जनाएका छन्। विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो। आफ्नो सवारी–साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उनीमाथि आक्रमण भएको बताइएको छ।

शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन्। उनीहरु विवाहित दम्पती हुन्। उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह (जेएडी)का सदस्यहरु रहेको गुप्तचर निकायले जनाएको छ।

सो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाका इसाई गिर्जाघरहरुमा आत्मघाती आक्रमण गरेको थियो। छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकोप्टरमा राखेर राजधानी जकार्तास्थित अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

प्रहरीकाअनुसार उनीमाथि यसअघि पनि दुईपटक असफल हत्या प्रयास गरिएको थियो। विरान्तोसँगै एकजना स्थानीय प्रहरी प्रमुख र उनका दुईजना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो। तर उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। 

कमेन्ट लोड गर्नुस