सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोटः नेपाल अस्ट्रेलियासंग पराजित

२०७६ असोज २३, ०६:१२ खबर संवाददाता

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा नेपाल घरेलु टोली अस्ट्रेलियासंग पराजित भएको छ। नेपाल ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा भएको खेलमा प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो।

अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जेमी म्याकलरेनले पहिलो गोल गरे। त्यसअघि खेलको पहिलो मिनेटमा रञ्जित धिमालले दिएको ब्याक पासलाई गोलरक्षक किरन चेम्जोङले क्लियर गर्न खोज्दा बल रिबाउन्ड भई नेपाली टोली गोल खानबाट जोगिएको थियो। पाँचौं मिनेटमा पनि अस्ट्रेलियन खेलाडीको प्रहारलाई नेपाली टोलीका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरे। नेपाली टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले सुरुमा दुई प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा ओरालेका थिएनन्।

अस्ट्रेलियाले दोस्रो गोल १९औं मिनेटमा गरेको हो। दोस्रो गोल पनि जेमी म्याकलरेनले नै गरे। अजिज बेचिचको हेड पासमा म्याकलरेनले हेड गोल गरेका हुन्। अस्ट्रेलियाका लागि तेस्रो गोल २४औं मिनेटमा ह्यारी सटरले गरे। उनले क्रेग गुडविनको कर्नर पासमा गोल गरेका थिए। नेपालले अस्ट्रेलियाजस्तो प्रभावशाली टोलीविरुद्घ पनि सुरुदेखि नै रक्षात्मक नभई आक्रामक पर्याे। खेलको पहिलो हाफमा अस्ट्रेलियाले ३–० गोलको अग्रता लिएको थियो। 

खेलको ५८औं मिनेटमा अस्ट्रेलियाले चौथो गोल थप्यो। अस्ट्रेलियन खेलाडी ह्यारी सटरले हेड गरेको बल बचाउन खोज्दा नेपाली डिफेन्डर दिनेश राजवंशीसँग ठोक्किएर गोल हुन गएको हो। ६५औं मिनेटमा नेपाली प्रशिक्षकले अभिषेक रिजाललाई निकालेर विमल घतर्तीमगरलाई मैदानमा प्रवेश गराएका थिए। नेपाली प्रशिक्षकले ७९औं मिनेटमा अञ्जन बिष्टलाई निकालेर तेज तामाङलाई मैदानभित्र प्रवेश गराए। नेपाली टोलीका कप्तान समेत रहेका गोलरक्षक किरण चेम्जोङले अस्ट्रेलियन खेलाडीले प्रहार गरेको करिब एक दर्जन उत्कृष्ट प्रहारलाई विफल पारेका थिए।
 

कमेन्ट लोड गर्नुस