सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षाकर्मीले कर्मथलोमै मनाए दशैँ

२०७६ असोज २२, ११:०६ खबर संवाददाता

सबैलाई हिन्दु नेपालीहरुको महान पर्व दशैँ मनाउन भ्याइनभ्याइ थियो। दशैँ मनाउन शहरलाई शुन्य बनाउँदै धेरै नेपालीहरु घर फर्कीएका थिए। रोजगारी र काम विशेषले जन्मथलो छोडेकाहरु दशैका लागी घर फर्कीएपछि अहिले गाउँमा चलहपहल पनि निकै बढेको छ। तर धेरै सुरक्षा निकाय, रेडियो र टेलीभिजनका पत्रकार र काम विशेषले घर जान नपाएकाहरुले भने कर्मथलोमै दशै मनाएका छन्। 

जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षाकर्मीहरु, अघिकांश रेडियो र टेलीभिजनमा कार्यरत संचारकर्मी र केही प्रशासनीक निकायका कर्मचारीहरु दशैमा पनि कर्मथलोमै व्यस्त रहे। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दशैँमा विदा बस्न नपाएका राष्ट्र सेवक कर्मचारीहरुलाई दशैँको टीका लगाइ दिए। 

जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेको आफ्नै निवासमा प्रमुख जिल्ला अधिकारी बोहराले साईत जुराएर टिका लगाई दिएका हुन्। कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरी र प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतको भने यो बर्ष दशैँ थिएन्। त्यसैले उनीहरुले मातहतका प्रहरी कर्मचारीलाई पनि टिका लगाउन पाएनन्। 

वडा प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक पुष्कर पन्तलाई बोलाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा दशैँको टिका ग्रहण गर्ने कार्यक्रम राखिएको थियो। ‘अन्य युनियमा पनि प्रहरीका अधिकारीहरुले आफु मातहतका प्रहरी कर्मचारीलाई टिका लगाएर दशँै मनाएका छन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘दशैमा पनि बिदा बस्न नपाएका प्रहरीलाई सम्वन्धीत प्रहरी युनीटका प्रमुखले टिका लगाएर दशै मनाएका हुन्।’

नागरिक आफन्त तथा परिवारका सदस्यसँग रमाइलो मानेर चाड मानिरहेका बेला प्रहरी भने उनीहरुकै सुरक्षार्थ खटिएको उनले बताए। अघिपछि भन्दा दशैँको समयमा बढी अपराध हुने भएकाले प्रहरी पनि बढी परिचालन गर्नु पर्ने हुन्छ र धेरै प्रहरी विदा पाउदैनन्।

सबै नागरिकले दशैँ रमाइलोसँग मनाएजस्तै प्रहरीलाई पनि त्यसै गरी मनाउने रहर त हुन्छ, तर दशैँमा अपराध बढी हुने भएकाले धेरै प्रहरीको दशैँ ब्यारेकमै वित्ने गरेको सशस्त्र प्रहरी वल नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख तथा सशस्त्र प्रहरी उपरिक्षक कलम तिउसिनाले बताए। 

‘नजिक घर भएकाहरुलाई समय मिलाएर टिका  लगाउन पठाएका थियौँ,’ उनले भने, ‘धेरैले भने ब्यारेक भित्रै दशैँ मनाए।’ घर जान नपाए पनि प्रहरीले आफू डियुटीमा खटिएको ठाउँ तथा व्यारेकलाई आफ्नो घर सम्झेर दशैँ मनाएका छन्। व्यारेकमै विभिन्न कार्यक्रम गरेर दसैँ मनाउने चलन प्रहरीमा छ। सञ्चारमाध्यममा पत्रिका बन्द भएपनि विद्युतीय सञ्चार माध्यम रेडियो र टेलीभिजनमा कार्यरत पत्रकारहरुको दशैँ पनि कार्यथलोमै वितेको छ।

कमेन्ट लोड गर्नुस