सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी - २० सिरिजको दोस्रो खेलमा नेपालद्वारा नेदरल्याण्ड्स ४ विकेटले पराजित

२०७६ असोज २०, ०३:२३ खबर संवाददाता

पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ। नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो। नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएको हो। 

अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा पाँचौँ बलमा फेरि छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो। पाँचौँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियोगिताको दोस्रो जित दिलाएका हु्न्। यसअघि १३४ रनको लक्ष्य दिने क्रममा नेदरल्याण्ड्सका लागि म्याक्स ओ’दाउदले सर्वा्धिक ४३ रन बनाए। यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाएका थिए। 

बलिङतर्फ करन केसी र सोमपाल कामीले ४-४ तथा ललित राजवशीले १ विकेट लिएका थिए। एक विकेट भने रन आउटका रुपमा आएको थियो। १३४ रनको लक्ष्य भेट्न मैदानमा उत्रेको नेपालले मध्यम सुरुवात गरेको थियो। टिमको स्कोर २५ रन हुँदा पवन सर्राफ आउट भए। त्यसपछि २९ रन हुँदा आरिफ शेख दोस्रो विकेटका रुपमा आउट भए। दिपेन्द्र  सिंह ऐरी पनि व्यक्तिगत ८ रन बनाएर आउट भए। त्यतिञ्जेलमा नेपालको स्थिति ११ ओभर ४ बलमा ६१ रन थियो।

त्यसपछि विनोद भण्डारी क्रिजमा आए तर १४औँ ओभर चलिरहँदा ओपनिङमा आएका कप्तान पारस खड्का व्यक्तिगत ३३ रन बनाएर चौथो विकेटका रुपमा पतन भएपछि नेपालको स्थिति अलि धराशायी भएको थियो।  १७औँ ओभरमा रोहित पौडेल ५ रनमा तथा १८ औँ ओभरमा विनोद भण्डारी २६ रन बनाएर आउट हुँदा नेपाल ६ विकेट गुमाएर १०६ रनको स्थितिमा थियो।
 

कमेन्ट लोड गर्नुस