सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सवारीसाधनमा क्यु फ्री

२०७६ असोज १९, ११:१८ खबर संवाददाता

सुदूरपश्चिममा यातायात प्रालीहरुले आजदेखि क्यु फ्रीमा गाडी सञ्चालनमा ल्याएका छन।  दशैँका बेला गन्तव्य फर्किने यात्रुहरुलाई मध्यनजर गर्दै प्रालीहरुले क्यु फ्रीमा गाडी सञ्चालन गरेका हुन्।  अध्ययन, रोजगारी तथा कामको सिलसिलामा घर बाहिर रहेका तर दशैँ मनाउन विभिन्न कारणले अहिले सम्म गन्तव्य फर्किन नसकेका यात्रुको सुविधाका लागि क्यु फ्रीमा गाडी छोडिने लागिएको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले यात्रुहरुको सुविधाका लागि आजदेखि तीन दिन सम्म क्यु फ्रीमा गाडी चलाउने जानकारी दिए। उनले लामो दुरीमा आज र भोली गरी दुई दिन तथा छोटो दुरीमा तीन दिन सम्म क्यु फ्रीमा गाडी सञ्चालन गरिने बताए।

यस्तै रिभर साईट यातायात प्रालीका अध्यक्ष धिरज बहादुर शाहीले पनि आजदेखि  तीन दिन सम्म क्यु फ्रीमा गाडी सञ्चालन हुने जानकारी दिए। यस्तै मालिका यातायात प्राली र खप्तड मालिका यातायात प्रालीले पनि क्यु फ्रीमा गाडी चलाउने भएका छन्। मालिका यातायात प्रालीका अध्यक्ष जय बहादुर खड्काले यात्रुहरुको चापलाई मध्यनजर गर्दै लामो दुरीमा १९ र २० तथा छोटो दुरीमा १९, २० र २१ गते गाडी चलाईने बताए।

विगतमा पनि यातायात व्यवसायीहरुले चाडपर्वका बेला क्यु फ्रीमा गाडी चलाउँदै आएका थिए। तर क्यु फ्रीका नाममा व्यवसायीहरुले मनोमानी गर्दा यात्रुहरुले सास्ती खेप्नुपर्ने समस्या रहेको थियो। क्यु फ्रीमा यात्रुहरुबाट बढि भाडा असुल्ने, बिच बाटोमै अलपत्र छोड्ने तथा अनावश्यक दुःख दिदा यात्रुहरुले हैरानी खेप्नुपर्ने बाध्यता रहेको थियो तर यसवर्ष भने त्यसो नहुने दावी गरिएको छ।

सुन्दर सुदूरपश्चिम यायातात प्रालीका अध्यक्ष पदम सापकोटाले क्यु फ्रीमा यात्रुहरुलाई दुःख दिने काम नगर्न सबैलाई आग्रह गरिएको बताउँदै त्यस्तो भेटिएमा कारवाहीको दायरामा ल्याईने दावी गरे। यस्तै ट्राफिक प्रहरीले पनि क्यु फ्रीका नाममा यात्रुलाई दुःख दिनेलाई कारवाहीको दायरा ल्याईने जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त ट्राफिक प्रहरी नीरिक्षक मोहन साउँदले राजमार्ग क्षेत्रमा चेकजाँच बढाईएको दावी गर्दै क्यु फ्रीका नाममा यात्रुलाई दुःख दिनेलाई कानूनी कारवाहीको दायरामा ल्याईने बताए। 

 

कमेन्ट लोड गर्नुस