सुदूर नेपाललाई विश्वसँग जोड्दै

महरा विरुद्ध बलात्कारको उजुरी दर्ता, पक्राउ गर्ने तयारी

२०७६ असोज १८, १२:५३ खबर संवाददाता

यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको छ। पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन्।

स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन्। गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन्। उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन्।

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ। यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए। उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन्। बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ।’’ 
आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए। महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन्।

एक प्रहरी अधिकारीले भने, ‘‘आइतबार साँझ चार बजे महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्क गरेका थिए। त्यसपछि उनी साँझ कोठामा पुगे । उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ।’’आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन्। खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन्। प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो। –यो खबर बाह्रखरी डटकममा केशवराज जोशीले लेखेका छन्। 

कमेन्ट लोड गर्नुस