सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट काठमाडौँका लागि छुटेको बससंग ट्रक ठोक्किँदा १३ जना घाइते

२०७६ असोज १८, १०:२१ खबर संवाददाता

धनगढीबाट काठमाण्डौका लागि छुटेको बससंग ट्रक ठोक्किँदा १३ जना घाइते भएका छन्। शुक्रबार बिहान भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। 

दुर्घटनामा परेर च्यापिएका ट्रक चालकको अहिले सम्म पनि उद्धार हुन सकेको छैन। बस चालकको भने उद्धार गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। बस चालक घोडाघोडी नगरपालिका–१ निवासी २२ वर्षीय अरुण चौधरीको उद्धार गरिएको हो। 

ट्रक चालक अझै च्यापिएको र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर च्यापिएका चालकको उद्धार गर्न उपकरण नहुँदा समस्या परेको हो। क्रेन र टोचन नहुँदा सामान्य ब्लेडले ट्रक काटेर उद्धार गर्दा धेरै समय लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुवै चालकस हित १३ जना यात्रु घाइते मध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ। १० जनाको राप्ति पोलिक्लनिक भालुबाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस