सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिर्ता गरे महराले सरकारी सुविधा

२०७६ असोज १७, ०७:४९ खबर संवाददाता

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन्। महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए। महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटिएका थिए।

गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले बताए। सभामुखको हैसियतमा महराले बा २ झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए। उक्त गाडीलाई बिहीबार दिउँसो संसद सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ।

संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले राजीनामा दिएका थिए। महरा बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन्। सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गरेको महराका सञ्चारविज्ञ मल्लले बताए। डेरा पाएपछि सरकारी निवास पनि छाडिने उनले बताए।

कमेन्ट लोड गर्नुस