सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्वतका अनिश बने दशौँ ‘लिगलिगे’ राजा

२०७६ असोज १६, ०२:११ खबर संवाददाता

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले हात पारेका छन्। १३ दशमलव ८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उननले उपाधि जितेका हुन्। दौड जितेसँगै अनिषलाई बिहीबार नै श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ। ‘श्रीपेचसहित उहाँलाई मोटरमा राखेर नगर परिक्रमा गराउछौ,’ पालुङटार नगरपालिकाका मेयर दिपकवावु कंडेलले भने, ‘राजा बनाएर आज एक रात यही लिगलिगकोटमा राख्छौं।’ थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको उनले बताए। एक वर्षसम्म लिगलिगकोटको दूत रहने गरी व्याज पनि उपलब्ध गराइएको छ।

प्रतियोगितामा नेपाली सेनाका खगेन्द्रबहादुर भाट दोस्रो भएका छन्। एक घण्टा १ मिनेट ८ सेकेण्डमा उनले निर्धारित दूरी पार गरेका छन्। उनले ३५ हजार नगद पुरस्कार पाए। एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धा्रित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए। उनले नगद २५ हजार पुरस्कार पाएका छन्। १६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ।

पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो। विहान साडे आठ बजेबाट चेपे र मस्र्याङदी नदीको दोभान चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट दरबार पुगेर टुङ्गएिको छ। महिलातर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दूरीको खुल्ला दौड प्रतियोगिता पनि भएको छ। स्थानीय लिगलिगवासी र छात्रछात्रादेखि ४० वर्षभन्दा माथिका उमेर समूहका लागि पनि छुट्टाछुट्टै प्रतियोगिता दौड भएको थियो।

प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५/५ लाख रकम सहयोग प्राप्त भएको थियो। लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए। यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको गणपती उज्वल केसीले जानकारी गराए।
 

कमेन्ट लोड गर्नुस