सुदूर नेपाललाई विश्वसँग जोड्दै

पकिस्तानद्धारा श्रीलंका ५ विकेटले पराजित

२०७६ असोज १६, ०७:४६ खबर संवाददाता

तेस्रो तथा अन्तिम एकदिवसीयमा पनि श्रीलंकालाई ५ विकेटले पाराजित गरी दशकपछि घरेलु मैदानमा खेलेको पाकिस्तानले शृंखला जितेको छ। पाकिस्तानले पहिलो खेल ६७ रनले जितेको थियो भने दोस्रो खेल वर्षाले रद्ध भएको थियो। कराँचीस्थित राष्ट्रिय रंगशालामा २९८ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो। पछिल्लो ३ वर्षमा पाकिस्तानको यो सार्वाधिक रनचेज जित हो।

ओपनरहरु फाखर अजाम र अविद अलीले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्दै पाकिस्तानको जितको खाका कोरेका थिए। ९१ बलमा ७६ रन प्रहार गरेका अजमले १ छक्का र ७ चौका प्रहार गरे। ६७ बलमा ७४ रनको योगदान गरेका अलीले १० चौका प्रहार गरे। बाबर अजामले ३१ र कप्तान सर्फराज अहमदले २३ रन बनाए। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका ह्यारिस सोहेलले ५० बलमा ५५ रनको अर्धशतकीय पारी खेले।

२२ बलमा २८ अविजित रन बनाएका इफ्तिखर अहमदले लगातार छक्का र चौका प्रहार गरी पाकिस्तानले घरेलु भूमिमा शृंखला जिताए । बलिङमा श्रीलंकाका नुवान प्रदीपले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ओपनर धनुस्का गुनाथिलाकाको सानदार शतकको सहयोगमा ९ विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो।

४४  दशमलव ३ ओभरमा मोहम्मद आमिरको बलमा बोल्ड हुनुअघि गुनाथिलाकाले १३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे। श्रीलंकाका लागि कप्तान लहिरु थिरिमान्ने र मिनोद भानुकाले समान ३६ रनको योगदान गरे। सातौँ नम्बरमा ब्याटिङमा आएका धनुस शानाकाले २४ बलमा ४३ रनको विष्फोटक पारी खेलेका थिए। पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिए। उनले १० ओभरमा ५० रन खर्चिए। उस्मान अन्सारी, वहाव रियाज, सादव खान र मोहम्मद नावाजले एक–एक विकेट लिए।
 

कमेन्ट लोड गर्नुस