सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर संघ फुटबल प्रतियोगिताः तीन टिम सेमिफाईनलमा

२०७६ असोज १५, १०:५१ खबर संवाददाता

केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएका छन्। आज भएका खेलमा विजयी हुदैं नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, वैंकर्स क्लब धनगढी र कैलाली जिल्ला फुटबल संघ सेमिफाईनलमा प्रवेश गरेका छन्। 
नैनादेवी युवा क्लबको आयोजनामा भईरहेको अन्तर संघ फुटबल प्रतियोगिता अन्तर्गत बुधवारको पहिलो खेलमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले कर्मचारी टेड युनियनमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ। मञ्चका लागि शंकर वोहोरा, दिपक उपाध्याय र प्रकाश मिश्रले १–१ गोल गरे। कर्मचारीका लागि विकास लम्साल र सुर्य विष्टले १–१ गोल फर्काए। मञ्चले लगातार दोस्रो जित दर्ता गरेको हो। हिजो जन प्रतिनिधिको टीमलाई ५–० ले हराएको थियो।


धनगढी रंगशालामा आज भएको दोस्रो खेलमा वैंकर्स क्लब धनगढीले पनि लागतार दोस्रो जित हात पारेको छ। वैकर्सले धनगढी उप–महानगरपालिकाका जन प्रतिनिधिको टीमलाई ११–१ ले हराएको हो। वैंकर्सका लागि निशान थापा र तपराज जोशीले ह्याटिक गरे। शिवराज पाठकले २ गोल गर्दा डिगेन्द्र चन्द, अमन जोशी र महेश जोशीले १–१ गोल गरे। जन प्रतिनिधिको तर्फबाट महेन्द्र थापाले १ गोल फर्काए। समुह बी बाट खेलकुद पत्रकार मञ्च र वैंकर्स क्लब सेमिफाईनल पुगेपनि समुह विजेता र उप–विजेताको टुंगो भोली हुने दुबै टीम बीचको खेलले लगाउनेछ।
आज नै भएको तेस्रो खेलमा कैलाली उद्योग वाणिज्य संघ विजयी भएको छ। उद्योग वाणिज्य संघले ईटा व्यवसायी संघलाई ७–१ ले हरायो। उद्योग वाणिज्य संघका लागि दिनेश लम्सालले ह्याटिक सहित ५ गोल गरे, भने रवि कुँवर, रामवहादुर गुरुगले १–१ गोल थपे। ईटाका लागि कृष्ण तामागले १ गोल फर्काए। यसअघि खेलको पहिलो खेलमा हारेको उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ वीच हुने अन्तिम खेलले कुन टीम सेमिफाईनलमा जाने भन्ने टुंगो लगाउने छ।

आज नै भएको चौथो खेलमा जित हात पार्दै कैलाली जिल््ला फुटबल संघ अन्तिम चारमा पुगेको छ। फुटबल संघले निर्माण व्यवसायी संघलाई ८–१ ले हरायो। फुटबल संघका लागि ठक्कर देउवा र रागवेन्द्र कार्कीले २२ गोल गरे। महेश गोले, जितेन्द्र वोगटी, कुमार शाही र विनोद विष्टले १–१ गोल थपे। निर्माणका लागि गणेश मल्लले १ गोल फर्काए।
 असोज १८ गतेसम्म धनगढी रंगशालामा चल्ने केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिता अन्तर्गत भोली चार खेल हुनेछन्। प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित ट्रफी र मेडल पाउनेछन्। प्रतियोगितामा विभिन्न संघसंस्थाका आठ टीमको सहभागीता रहेको छन्। समुह ए मा कैलाली जिल्ला फुटबल संघ, निर्माण व्यवसायी संघ, ईटा व्यवसायी संघ र कैलाली उद्योग वाणिज्य संघ रहेका छन्। समुह बी मा नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, धनगढी उप–महानगरपालिका, वैंकर्स क्लब धनगढी र निजामति कर्मचारी संघ रहेका छन्।
कमेन्ट लोड गर्नुस