सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी, महेन्द्रनगर लगायतका सहरमा फोरजी सेवा सुरु

२०७६ असोज १५, ०५:५१ खबर संवाददाता

नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि फोरजी सेवाको उद्वघाटन गरेको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा विस्तार गरिएको फोरजी सेवाको आज धनगढीमा उद्धघाटन गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्री एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको धनगढीमा उपस्थीती रहेको थियो। 

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका विभिन्न सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज उद्वघाटन गरिएको हो। त्यस्का लागि १२ वटा टावरको निर्माण गरिएको थियो। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले कैलाली र कञ्चनपुरमा पुर्वपश्चिम राजमार्गमा रहेको सहरसंगै हुलाकी राजमार्गमा रहेको धनगढी र फुलवारी क्षेत्रमा फोरजी सेवा सुरु भएको बताए। 

धनगढी, महेन्द्रनगर, टीकापुर, चिसापानी, लम्की, सुख्खड, अत्तरिया, झलारी, फुलवारी लगायतका सहरमा आजदेखि फोरजी सेवा सुरु भएको उनले बताए। अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी सेवा विस्तार गरिएको बताउँदै उनले माघ मसान्तसम्म सुदूरपश्चिमभरी नै फोरजी सेवा विस्तार गर्ने योजना रहेको बताए।

सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गर्ने लक्ष्य अनुसार कैलाली र कञ्चनपुरमा १२ वटा टावर निर्माण गरिएको थियो। आगामी माघ भित्र भने सुदूरपश्चिमका तीन सय ६१ स्थानमै फोरजी सेवा विस्तारको लक्ष्य रहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले जनाएको छ।

यस्तै नेपाल टेलिकमले कैलाली, कञ्चनपुर सहित अन्य देशका ३० जिल्लामा आजदेखि नै फोरजी सेवा विस्तार गरेको छ। यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको हो।

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ। चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ। नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ।
 

कमेन्ट लोड गर्नुस