सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट गौरीफन्टा र गड्डाचौकी नाका हुँदै दैनिक ५ हजार नेपाली फर्किदै

२०७६ असोज १५, ०२:०५ खबर संवाददाता

रोजागरीका लागि भारतका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु चाडपर्व मनाउन पश्चिमी नाका भएर घर फर्किने क्रम ह्वात्तै बढेको छ। बडादशैँ सुरु भएसंगै कैलाली र कञ्चनपुरका सीमा नाका भएर हजारौ नेपालीहरु आईरहेका छन्। गौरीफन्टा नाका भएर मात्रै दैनिक दुई हजार दुई सयदेखि दुई हजार आँठ सय सम्म नेपालीहरु आईरहेको त्रिनगर प्रहरी चौकीले जनाएको छ। नेपालीहरु समूहमै घर फर्किने क्रम ह्वात्तै बढेको चौकीले जनाएको छ। 

उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक २र३ हजार नेपाली आइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। खेतीपाती सकेर कामको खोजीमा भारत पसेका तथा लामो समयदेखि भारतमै काम गरिरहेकाहरू चाँडवाडको मौका पारेर धमाधम घर फर्कंदै छन्।

दिल्लीमा काम गर्दै आएका डडेल्धुराका रमेश ओडले भने, ‘दसैंतिहारमा आफ्नै गाउँठाउँमा रमाइलो हुन्छ, साथीभाइसँग भेटघाट पनि हुन्छ। त्यसैले विदा मिलाएर आएको हुँ।’ परिवारका सदस्यसंगै साथीभाईहरुसंग पनि भेटघाट हुने भएकाले उनी दशैँमा प्राय प्रत्येक बर्ष नै घर फर्किने गरेका छन्। 

डडेल्धुराकै अर्का नरेश तिरुवा पनि दशैँका लागि पञ्जावबाट घर फर्किएका छन्। १६ बर्षदेखि भारतमा काम गर्दै आएका उनी दशैँका लागि घर फर्किन पाउँदा दंग थिए। असारे खेती लगाएर सुदूरपश्चिमका अधिकांश बेरोजगार युवा रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन्। 

दसैंतिहारमा घर फर्किनेहरूलाई लक्षित गरेर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीले संयुक्त सहायता कक्ष स्थापना गरेका छन्। सहायता कक्षले सवारी साधनबाट बढी भाडा लिएर हुने ठगी र सीमा क्षेत्रमा हुने लुटपाटका घटना नियन्त्रणमा सहयोग पुगेको दावी गरिएको छ।

यद्यपी सीमामा हुने लुटपाट भने अहिले पनि नरोकिएको गुनासो नेपालीहरुको छ। विगतका बर्षको भन्दा आवागमनमा केही सहजता भएपनि अहिले पनि भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीले रकम असुल्दै आएको आरोप लागेको छ। 
 

कमेन्ट लोड गर्नुस