सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख महराले राजीनामा दिने सम्भावना

२०७६ असोज १४, ११:३४ खबर संवाददाता

आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ। नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन्। महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन्। सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन्।

सम्भवतः महराले आजै राजीनामा दिन सक्नेछन्। नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ। घटनाक्रमहरू जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन। उनले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ।’ स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरे पनि उनी हतास अवस्थामा छन्। के गर्ने भन्नेबारे उनले परामर्श गरिरहेका छन्।

आजै साँझसम्म महराले राष्ट्रपतिसमक्ष राजीनामा दिने सम्भावना पनि छ। बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ। सभामुखलाई पदबाट हटाउन महाअभियोग लगाउने विकल्प हुन्छ। तर, महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चौथाइ संख्या पनि प्रतिनिधिसभामा छैन्। सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ। अधिकांश नेता र सांसदहरूले महराले राजीनामा दिनुपर्ने भनेका छन्। अनलाईन खबरबाट साभार 

कमेन्ट लोड गर्नुस