सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख महरामाथी लागेको दुर्व्यवहारको आरोप निराधार भएको दावी

२०७६ असोज १४, ०७:४५ खबर संवाददाता

सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ। संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका छन्।

‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ। यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, प्रेस सल्लाहकार मल्लद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएको छ।

ती महिलाले आइतबार राति ८ बजे महरा रक्सीसहित आफ्नो कोठामै आएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। रक्सीले मातिएका महराले चश्माको खोल आफ्नो कोठामै छाडेको दाबी पनि ती महिलाको छ। तर, प्रेस सल्लाहकार मल्लले महरा दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यालय पुगेर दिउँसो २ बजे बालुवाटार निवासबाट फर्किएपछि त्यस दिन अन्यत्र कही नगएको दाबी गरेका छन्। कर्मचारी समायोजमा उनले केन्द्रमै रहन चाहेको र भनेजस्तो नभएपछि त्यसको रिस पोखेको दाबी पनि प्रेस सल्लाहकार मल्लले गरेका छन्।

 

कमेन्ट लोड गर्नुस