सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा फोरजी सेवाको उद्वघाटन १५ गते, १२ सहरमा सेवा सुरु हुने

२०७६ असोज १३, ०२:१३ खबर संवाददाता

एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले असोज १५ गते सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न १५ गते उद्वघाटन कार्यक्रम राखिएको छ।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार १५ गते मुख्यमन्त्री त्रिलोचन भट्टबाट सेवा उद्वघाटनको तयारी रहेको छ।

‘त्यस्का लागि १२ वटा टावरको निर्माण सम्पन्न भईसकेको छ,’ नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले भने, ‘कैलाली र कञ्चनपुरमा पुर्वपश्चिम राजमार्गमा रहेको सहरसंगै, धनगढी र फुलवारी क्षेत्रमा समेत फोरजी सेवा १५ गतेदेखि नै सुरु हुने छ।’

उनका अनुसार धनगढी, महेन्द्रनगर, चिसापानी, लम्की, सुख्खड, अत्तरिया, झलारी, फुलवारी लगायतका १२ सहरमा १५ गतेदेखि फोरजी सेवा सञ्चालन हुने छ। ‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी सेवा विस्तारको कार्य भईरहेको छ। माघ मसान्तसम्म सुदूरपश्चिमभरी नै फोरजी सेवा विस्तार गर्ने योजना रहेको छ।’ उनले भने। 

                                                                                                         धनगढीमा रहेको फोरजी टावर

सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गर्ने लक्ष्य अनुसार १२ सहरमा फोरजि विस्तार भईरहेको उनले बताए। फोरजी विस्तारको काम मध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम पूरा गरेको छ।

कोर प्रणालीको परीक्षण पनि सफल भईसकेको छ। आगामी माघ भित्र भने सुदूरपश्चिमका तीन सय ६१ स्थानमै फोरजी सेवा विस्तारको लक्ष्य रहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले जनाएको छ। 

हाल नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ। टेलिकमले फोरजी विस्तारका लागि २०७४ कात्तिकमा टेण्डर आव्हान गरेको थियो। फोरजी विस्तारका लागि देशभरी ६ हजार ७ सय बढी टावर परिचालन हुने टेलिकमले जनाएको छ। यो बाहेक सहरी क्षेत्रमा बाक्ला घरहरू भएका स्थानमा करिब छ हजार साना टावरहरू राख्ने योजना छ।
 

कमेन्ट लोड गर्नुस