सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजाका अंगरक्षकको हत्या

२०७६ असोज १३, १०:४६ खबर संवाददाता

साउदी अरबका राजाका अंगरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ। साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो। मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्। जेद्दाहस्थित साथीको घरमा गएका राजाका अंगरक्षकसँग चर्को भनाभनपछि एक्कासी बाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए। हत्याराले आफ्नै भाई, राजाका अंगरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाएका थिए।

झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका बताइएको छ। झडपमा अंगरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ। उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै सातजनाको अवस्थास्थिर रहेको बताइएको छ। सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए। अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए। 
 

कमेन्ट लोड गर्नुस