सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडकमा रहेका अनाथ, असाहय, मनोरोगीको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन

। फोटो स्रोत ।
२०७६ असोज १३, ०८:२७ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन्। आइतबार भक्तपुरको कौशल्टारमा आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सडक मानव, सडक बालबालिको उचित व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। 

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने भन्दै उनले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस भनेर अहिलेको सरकारले घोषणा गरेको बताए। उनले अभियान चलाएर केही महीनाभित्रै सडक रहेका मानवमुक्त उद्धार पर्ने बताउँदै उनले भने, ‘सडकमा आफैँ कोही पनि पुगेका होइनन् परिवारले नै पु¥याएका हुन्। आमाबाबु नपाल्ने छोराछोरीबाट करकठ्ठा गरेर आमाबाबुलाई दिलाउनुपर्छ।’ 

‘सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानमा एक करोड रुपैयाँ प्रदान गर्छु, यो रकमबाट अक्षयकोष निर्माण गर्नुस’ उनले भने। कुनै विदेशी आईएनजीओ र स्वदेशी एनजिओको सहयोगबिना नै तलब भत्ता नलिइ स्वयंसेवाको भावनाले शून्यबाट सुरु गरेको कामलाई सहयोग गर्न आवश्यक भएको उनको भनाइ छ। सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक तीन हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा समेत गरे।

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउन्ुको सट्टा यस्तो मानवीय सेवामा समय दिन उनको आग्रह छ। ‘समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला गर्ने, जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लगाउनु आवश्यक छ’ उनले भने। देशमा डेङ्गु नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जुलुस लिएर सडकमा ओर्लिन्छन् भन्दै उनले भने, ‘सरकारको ध्यान विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणमा गएको छ, धमाधम भ्रष्टाचारी समातिएका छन।’

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हेटौँडामा मुख्य कार्यालय बनाएर सुरु भएको संस्थाले अहिलेसम्म मकवानपुर, चितवन, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, बागलङ, लमजङ गोरखालगायतका १४ जिल्लामा १६ वटा शाखा सञ्चालन गरी सडकमा रहेको असहाय, बेवारिसे, अनाथ, मनोरोगीको उद्धार गरी आश्रय दिँदै आएको बताए। उनले अहिलेसम्म आश्रमले दुई हजारभन्दा बढीको सडकबाट उद्धार गरेको, उद्धार गरिएकामध्ये ६ सयको परिवारमा पुनःमिलन गराएको र पाँच सयको आश्रममै मृत्यु भएको बताउँदै २०८२ भित्रमा देशभरबाट सडक मानवमुक्त बनाउने लक्ष्य लिएर अभियान सुरु गरेको बताए।

सातवटै प्रदेश सरकारले पाँच सय जनाका दरले यस्ता सडक मानव राख्ने आश्रम निर्माण गरिदिएर अवको एक वर्षमा नै देशभर सडक मानवमुक्त बनाउने सकिने बताए। मानवसेवा आश्रमलाई रु १० लाख सहयोग गर्ने वल्र्ड लिङ्क, हेटौँडामा तीन सय जना सडक मानव राख्न सक्नेगरी निर्माण भइरहेको आश्रमका लागि रु २५ लाख प्रदान गर्ने काठमाण्डौ आइटम राउण्ड टेबल सेभेन, एक हजार दुई सय थान ज्याकेट र कपडा प्रदान गर्ने सिटीएक्सप्रेस गु्रप, एक लाख एक हजार प्रदान गर्ने मिडसिटी अस्पताललाई सम्मान गरेको थियो। आश्रमका संरक्षक डा. गोविन्द टण्डनले मानवीय सेवामा सबैको साथ र सहयोगको आवश्यकता रहेको औँल्याए।

कमेन्ट लोड गर्नुस