सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतद्धारा प्याज निर्यातमा प्रतिबन्ध

२०७६ असोज १२, ०५:५० खबर संवाददाता

भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज नियाृतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसको प्रत्यक्ष असर नेपालको बजारमा पर्ने देखिएको छ। निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत सरकारका प्रवक्ता सितांशु केरले सञ्चार माध्यमहरुसँग बताएका छन्। केरका अनुसार आइतबारबाट लागू हुने गरी सबै प्रकारका प्याजको निर्यात रोकिएको छ।

भारतीय सञ्चार माध्यामहरुकाअनुसार दिल्ली तथा मुम्बई जस्ता शहरमा प्याजको औसत मूल्य ७० देखि ८० रुपैयाँ भारु पुगेको छ। भारतमा प्याजको होलसेल मूल्य प्रति क्वीन्टल ४ हजार भारुबाट पछिल्लो एक महिनामै एक हजार रुपैयाँले बढेको थियो।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपाली बजार पनि प्रभावित हुने भएको छ। भारतमा मूल्य बढेसंगै पछिल्लो समय प्याजको मूल्य बढ्दो क्रममा छ। आइतबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने एक सय पाँच रुपैयाँसम्म पुगेको छ।

नेपालले चालू आर्थिक वर्षको पहिलो एक महिनामा १४ करोड ७३ लाख ९ हजार दुई सय ७८ किलो प्याजका विभिन्न आइटम तथा एक लाख ६३ हजार एक सय ३१ किलो सुकेको प्याज भारतबाट आयात गरेको थियो।

कमेन्ट लोड गर्नुस