सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट दिने निर्णय

२०७६ असोज १०, ०८:४७ खबर संवाददाता

आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन्। वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने निर्णय गरेको हो। छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने संघका अध्यक्ष क्या. रामेश्वर थापाले जानकारी दिएका छन्।

साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनाका लागि मात्र यस्तो सुविधा उपलब्ध हुने भएको छ। अब जेष्ठ नागरिकले छूट पाउन भने हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूटको घोषणा गरेका थिए। मन्त्रीको घोषणालाई शुरुमा विरोध गरेका वायुसेवा कम्पनीले अहिले भने शर्तसहित समर्थन गरेका हुन्।

यसअघि नेपाल एयरलाइन्सले सबै आन्तरिक उडानमा ५० प्रतिशत छूटको घोषणा गरेको थियो। श्री एयरले समेत ८५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र ५ सय र ७५ वर्षभन्दा माथिका दुई जनालाई एक उडानमा छूट घोषणा गरेको थियो।

यस्तो छ आयोनको निर्णय

-७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छूट पाउन सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा उपस्थित भई स्वयंले आफू विपन्न भएको स्वघोषण गर्नुपर्ने छ।

-उक्त छुट सुविधा अपर लिमिटको भाडादरमा मात्र लागू हुनेछ।

-ट्रंक रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन्।

-स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन्।

-यो छुट असोज १२ घटस्थापनाको दिनबाट लागु हुनेछ।
 

कमेन्ट लोड गर्नुस