सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विकास बैंकको सफ्टवेयर ह्याकिङ प्रकरणमा संलग्न फेरी एक जना पक्राउ

२०७६ असोज ९, ०५:२२ खबर संवाददाता

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एक जना पक्राउ परेका छन्। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बिहीबार दिउँसो स्याङ्जाको वालिङबाट प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाललाई पक्राउ गरेको हो।

उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाण्डौ ल्याएर घटनाको अनुसन्धान गरिने महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार उनको बैँक खातामा ६५ लाख रुपैयाँ जम्मा भएको भए पनि उनले निकाल्न भ्याएका थिएनन्। यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ पनि निकालेका थिए। त्यसमध्ये १० लाख रुपैयाँ हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ। प्रहरीले ६० लाख रुपैयाँ बरामद गरिसकेको छ।

सो प्रकरणका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाइ नेपाली एजेण्टलाई प्रयोग गरेका थिए। उनले पाँच अर्ब रुपैयाँ निकाल्ने योजना बनाएको खुल्न आएको छ।
 

कमेन्ट लोड गर्नुस