सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी छिटो कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको निर्देशन

२०७६ असोज ९, ०४:५६ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको समीक्षात्मक बैठकमा उनले आफूसँग गरिएको कार्य सम्पादन सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।

उनले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले बताए। प्रधानमन्त्री ओलीले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनुको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गरे।

बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइन बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे। उनले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गरे।

एक महिनाअघि ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरेको थियो। त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ(आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराएको थियो।
 

कमेन्ट लोड गर्नुस