सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनले बनायो विश्वको सबैभन्दा ठूलो विमानस्थल

२०७६ असोज ९, ०४:२३ खबर संवाददाता

चीनले विश्वकै ठुलो नयाँ विमानस्थल बनाएको छ। ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ। देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन्। सो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ।  यो विमानस्थल ‘स्टारफिस’ आकारको छ।

७ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ड्याक्सिङ अन्तराष्ट्रिय विमानस्थल विश्वकै ठूलो टर्मिनलयुक्त विमानस्थल भएको चाइना डेलीले जनाएको छ। विमानस्थल परिषद अनुसार बेइजिङको यो विमानस्थल विश्वकै व्यस्त एटलान्टापछि दोस्रो नम्बरमा पर्छ। नयाँ विमानस्थलले बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थलमाथि परेको चाप घट्ने विश्वाससमेत गरिएको छ।

पहिलो उडान ‘चाइना सदर्न एअरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तराष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङ विमानस्थलका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन्।
 

कमेन्ट लोड गर्नुस