सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली र प्रदेश ५ बाट पनि आउँछन कैलालीको गोदावरी धाममा श्राद्ध गर्न

२०७६ असोज ९, ०६:४४ खबर संवाददाता

महाकुम्भको आयोजना पछि धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको गोदावरी धाममा श्राद्ध गर्नेहरुको घुईचो लागेको छ। विगतका बर्षहरुमा भारतको हरिद्धार लगायतका तिर्थस्थलमा गएर सोह्र श्राद्ध गर्ने परिपाटी रहेकोमा महाकुम्भको आयोजनापछि गोदावरी धाममा नै श्राद्ध गर्नेहरु बढेका हुन।

यसपालीको सोह्र श्राद्धमा पनि दैनिक ४० देखी एक सय ५० जनाले गोदावरी पुगेर आफ्ना पितृको श्राद्ध गरीरहेको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए। 

‘अघिल्लो बर्षको सोह्र श्राद्धको अवधीमा गोदावरी धाममा झण्डै साढे तीन हजार जतिले श्राद्ध गरेका थिए,’ अध्यक्ष जोशीले भने, ‘सुदूरपश्चिमका विभिन्न जिल्लाहरुसंगै कर्णाली र प्रदेश नम्वर ५ बाट पनि श्राद्ध गर्ने गोदावरी आउने क्रम जारी रहेको छ।’

कैलाली प्रदेशको राजधानी भएको र जिल्लामा कर्मचारीको सङख्या पनि बढी भएकोले यस क्षेत्रमा कार्यरत कर्मचारीको रोजाईमा पनि गोदावरी परेको उनले बताए। सोह्र श्राद्धको अवधीमा तिथि अनुसार सन्ततीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने चलन रहेको छ।

गोदावरी धाममा देवी देवताहरुको बसोवास रहेको बिभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको कुरा चर्चामा आएपछि अहिले गोदावरीको धामिर्क महत्व बढ्दै गएको हो। भारतका ठुला तिर्थस्थलहरु भन्दा बढी धार्मिक महत्व गोदावरीको भएकोले श्राद्धका गर्न बाहिर नगई गोदावरी क्षेत्रलाई नै रोज्ने परिपाटी बढेको हो। 

श्राद्धको अवधीमा घर, नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ। यो अवधिभर बाबुआमा नहुनेहरुले माछामासु, लसुन, प्याज जस्ता तामसी परिकार खान नहुने धार्मिक परम्परा छ।
 

कमेन्ट लोड गर्नुस