सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोह्र श्राद्ध तिथिमा पितृप्रसाद खाँदा २७ जना बिरामी

२०७६ असोज ८, ०२:०६ खबर संवाददाता

सिन्धुलीमा पितृप्रसाद खाँदा २७ जना बिरामी भएका छन्। मंगलबार सिन्धुलीको दुधौली नगरपालिका–२ बसनियास्थित स्थानीय राजेन्द्र दाहालको घरमा  सोह्र श्राद्ध तिथिमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएको वडाअध्यक्ष रितेस राउतले बताए।

उनका अनुसार बिरामी परेका मध्ये ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मंगलबार राति नै बर्दिबासमा रहेको जनसेवा अस्पताल पठाइएको छ  भने,  बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ‘फुड प्वाइजन’का कारण उनीहरु बिरामी परेको बताइएको छ।

यस्तै पाल्पामा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा  ५ जना बिरामी भएका छन्। मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि रामपुर नगरपालिका–४ खप्टारका टुलबहादुर मल्ल, ठगबहादुर खाँण, अनुप थापा, केसरी मल्ल र शंकर खाँण बिरामी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनीहरुको रुपन्देहीको सिद्धबाबा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस