सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउँछौ : गृहमन्त्री थापा

२०७६ असोज ६, ०२:२८ खबर संवाददाता

गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको बताए। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताए।

यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन्। उनले भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने पनि बताए।

गृहसचिव प्रेमकुमार राईले नेपालमा पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नचल्ने भएकाले ती नोट बोक्नेहरुले दुख पाउने सम्भावना रहेको बताए। ती नोट नेपालमा प्रचलन गर्न पाइने हो कि होइन भन्ने विषय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रष्ट नपारेकाले समस्या हुन सक्ने बताए।
 

कमेन्ट लोड गर्नुस