सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलाको बाढी बस्तीमा पस्दा एक विद्यालयसहित ८ घरमा क्षति, दुई जना बेपत्ता

२०७६ असोज ५, १२:४३ खबर संवाददाता

म्याग्दीमा बाढीका कारण एक विद्यालय सहित ८ भत्किीएका छन्, भने दुई बालिका बेपत्ता भएका छन्। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा बुद्ध एकेडेमी विद्यालयसहित ८ घरमा क्षति पुगेको छ। बाढीले तीन वटा घर भत्किँदा भाग्ने क्रममा १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार बेपत्ता भएका छन्। बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको म्याग्दी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घर बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ। त्यस्तै सेते किसान, विष्णु दर्जी, अनिता परियार, रेशम दर्जी र चमेली परियारको घरसहित ३१ जना प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। कोटखोलाले परम्परागत धार परिवर्तन गरी मानववस्ती र विद्यालयतर्फ पसेपछि क्षति पुगेको हो। बुद्ध एकेडेमीको खेलमैदानमा बाढी पसेको र कक्षाकोठा बन्द भएका कारण बग्न नपाउँदा क्षति पुगेको बताइएको छ। 

बाढीकै कारण बुद्ध एकेडेमी नजिकै रहेको ब्लक उद्योगमा समेत क्षति पुगेको छ भने स्थानीयको धानखेत पुरिएको छ। कोटखोलामा ठूल्ठूला रुख तथा दाउरा, ढुङ्गा, माटो र गेगरसहित आएको लेदोले बेनी–हाँडेभीर–बगरफाँट–सुर्केमेला हुँदै बराङ्जा जाने ग्रामीण सडक अवरुद्ध बनाएको छ। अहिले बेपत्ता भएका २ जना बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाढीबाट विस्थापित र प्रभावितको उद्दार गर्ने, राहत वितरणको काम भैरहेको बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए। नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले खोज, उद्दार एवं पीडितको व्यवस्थापनका लागि काम गरिरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस