सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्छ : कांग्रेस नेता पौडेल

। फोटो स्रोत ।
२०७६ असोज ३, ०५:२९ खबर संवाददाता

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन्। शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने बताए। वरिष्ठ नेता पौडेलले मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे। बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेलले गाउँमा रहेका जनतालाई पूर्वाधार र्पुयाउन नसक्दा अधिकांश मानिस पलायन हुँदै गएको भन्दै गाउँमा बस्ने वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे। गाउँमा रोजगारीको अवसर सिर्जना नगरेसम्म पलायन हुने अवस्था नरोकिने उनको भनाइ थियो।

सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको नेता पौडेलको भनाइ छ। उनले पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने बताए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले प्रजातन्त्रका लागि ठूलाठूला क्रान्ति गण्डकी क्षेत्रमा भएको उल्लेख गरे। समाजले प्रजातन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सुझावसमेत दिए। पूर्वमन्त्री रामबहादुर गुरुङले गाउँमा बस्ने वातावरण निर्माण नभएसम्म मुलुक विकास हुन नसक्ने बताए।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले सरकारले गरेका गल्ती कमजोरीलाई जागरण अभियानमार्फत आम जनतामाझ लैजानुपर्ने बेला आएको बताए। विसं २०७४ जेठ १३ मा स्थापना भएको समाजले गण्डकी क्षेत्रमा जन्मेर टोखा नगरपालिकाभित्र बसोबास गर्ने प्रजातान्त्रिक आस्था भएका व्यक्तिलाई समेटेर अगाडि बढेको समाजका अध्यक्ष इन्द्रविलास घिमिरेले बताए।

कमेन्ट लोड गर्नुस