सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अदालतले तोक्यो आत्महत्या दुरुत्साहनको मुद्दामा श्रीमानलाई ६ महिना कैद सजाय

२०७६ असोज २, ०५:४४ खबर संवाददाता

चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहनको मुद्दामा एक जनालाई ६ महिना कैद सजाय तोकेको छ। मुद्दा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ।
२०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर–२, मा एक युवतीले आत्महत्या गरेकी थिइन्। छोरीको आत्महत्या नभई आत्महत्या गर्न प्रेरित गरेको भन्दै माइती पक्षकी आमा दुर्गादेवी थापा बस्नेतले प्रहरीमा जाहेरी दिएको थियो।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मुद्दामा एक आरोपितलाई ६ महिना कैद र अन्य तीन आरोपितलाई सफाइ दिएको छ। मुद्दा परेको ६ महिनापछि अदालतले यस मुद्दाको टुंगो लगाएको हो। यस घटनामा मृतकले कुनै सुसाइड नोट समेत नबनाएको अदालतले जनाएको छ।
२०७५ असारमा सन्जोग गिरी र विविता बस्नेतको भागी विवाह भएको थियो। बिहेपछि भदौमा सन्जोग रोजगारीका लागि दुबई गएका थिए। छोराबुहारीबीच फोनमा सन्देश, भिडियो संवाद हुने गरेको बुबा गोपाल गिरीले बताए। बिहेको केही समयपछि उनीहरुबीच झगडा सुरू भयो। विदेशमा रहेका श्रीमान् र विविताबीचको फोनको झगडाले गर्दा विविताले फागुन १३ गते घरमा झुन्डिएर आत्महत्या गरिन्। 
अनुसन्धानको क्रममा श्रीमान–श्रीमतीबीच भएको भिडियो र सन्देश आदानप्रदान प्रमाणका रुपमा लिइएको छ। दुवै जनाबीच सम्बन्ध नै टुंग्याउनेसम्मको झगडा भएको र आफ्नो परिवारले नस्वीकार्ने भन्दै श्रीमानले विदेशबाट भनेको पाइएको बताइएको छ।
आत्महत्याका लागि प्रेरित गरेको मुख्य आरोपित रहेका सन्जोग गिरीविरूद्ध ६ महिना कैद, १ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिबाना गराउने फैसला भएको हो। आरोपित सासू, ससुरा र देवरको हकमा भने सफाइ हुने गरी फैसला भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीले बताए।
मुलुकी अपराध संहिताको दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख छ। दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने कानुनी प्रावधान रहेको छ। यदि कसैले आत्महत्या दुरुत्साहन गराएमा उपदफा २ मा व्यवस्था गरिएबमोजिम ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने छ।

कमेन्ट लोड गर्नुस