सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्वको रौनक

२०७६ असोज १, १०:५५ खबर संवाददाता

आज असोज संक्रान्ति, अर्थात बुढी पोल्ने पर्व, सुदूरपश्चिमका पहाडी जिल्लामा वुढी पोल्ने पर्वको रौनक रहेको छ। हरेक वर्ष असोज संक्रान्तिका दिनलाई बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाउने गरिएको छ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा बुन्ढुनी पर्व सुदूरपश्चिममा मनाउने गरिएको जनविश्वास रही आएको छ। 

यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँस लिङगो आदी रुखहरु काटेर बनाएको बुढीलाई पोल्ने चलन छ। द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान श्रीकृष्णलाई दूधको रुपमा विष पिलाएर मार्न खोजेको कुरा कृष्णले थाहा पाएर उल्टै पुतनाको वध गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ।

पुतना दहनका लागि आज साँझ सबै घरबाट काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाइ दिने चलन छ। बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ।

साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ। यसो गर्दा पशु चौपायमा कुनै रोग नलाग्ने विश्वास रहेको छ। पुत्ला दहन गर्दा ‘बुढीलाई पोल गाईबाच्छा पाल’ भन्ने गरिन्छ। पुरै जल्न नसकेको बीचको लिङ्गो उखालेर फाल्छन्।

यसरी लिङ्गो फाल्दा कसैले फलाना गाउँका मुखिया मेरो लुतो लैजा भनेर स्वरमा स्वर मिलाउँदै कराउछन्। यसलाई मनन गर्दा एक गाउँका मान्छेले अर्का गाउँका प्रति आक्रोस ब्यक्त गरे जस्तो पनि देखिन्छ। गाउँमा मुखियाको अतिबादी शैलीको बिरोध पनि हो उक्त नारा। 
 

कमेन्ट लोड गर्नुस