सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसद्वारा प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध

२०७६ भदौ ३१, ०५:४५ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ताको माग राख्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले उक्त विधेयक फिर्ता गर्नुपर्ने र नगरे बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए।

मंगलबारको कार्यसूचीमा उक्त विधेयकमाथि प्रदेशसभाको सामाजिक विकास समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो। कांग्रेसले प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीबाट नहटाए सदन चल्न नदिने बताएपछि पहिलोपटक २० मिनेटका लागि सदन स्थगित गरिएको थियो।
त्यसपछि सुरु भएको बैठकमा कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए।

मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको प्रतिवेदन सोमबार सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो। तर, कांग्रेसले उक्त प्रतिवेदन अहिलेकै अवस्थामा पारित गर्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेको थियो। उक्त विधेयकमा विश्वविद्यालयको बोर्ड अफ गर्भनर्स लगायतका केही व्यवस्थामा कांग्रेसले असहमति जनाएको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिपक्षको भावनालाई पनि समेटेर सहमतिमा विधेयक पारित हुने जानकारी दिए। उनले दुई तिहाईको दम्भ सरकारमा नरहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्न सरकार तयार रहेको बताए।
 

कमेन्ट लोड गर्नुस