सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्षमा सबै नेपालीको घरमा बिजुली र्पुयाउने घिसिङको दावी

२०७६ भदौ २९, ०६:१० खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली र्पुयाउने दावी गरेका छन्। प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा बोल्दै केन्द्रीय प्रसारणको बिजुली र्पुयाउन नसक्ने ठाउँमा उर्जाका अरु उपकरणमार्फत पनि बिजुली या सोलार र्पुयाइने बताए।

त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि बताए। यस्तै उर्जा दक्षता भएका लिड चिम,पंखा,क्यापासिटर बैंक,पानी तान्ने मोटर लगायतका उपकारणको प्रयोग बढाइने बताए।

यस्तै संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्राधिकरणका सबै कामलाई पारदर्शी बनाउने पनि प्राधिकरणको अबको योजना छ। ३ वर्ष अघि आजैका दिन कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङले झन्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड नाफामा लगेको जानकारी दिए।

त्यस्तै ३ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्ब २२ करोडमा झारिएको र ३ वर्ष अघि ३५ अर्ब ७ करोड रुपैयाँ वार्षिक आम्दानी रहेकोमा अहिले वार्षिक ७३ अर्ब ८६ करोड र्पुयाइएको उनले बताए।

कमेन्ट लोड गर्नुस