सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय संसदका दुबै सदनको बैठकको कार्यसुची

२०७६ भदौ २९, ०१:५३ खबर संवाददाता

संघीय संसदका दुबै सदनको बैठक आइतबार बस्न लागेको छ। दिउँसो १ बजे प्रतिनिधिसभा बैठक र ३ बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो। प्रतिनिधिसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू मन्त्री योगेश भट्टराईलाई सोधिने र तिनको जवाफ मन्त्रीले दिने कार्यक्रम छ।  त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ गोगीले ‘वातावरण संरक्षण विधेयक २०७५’ र ‘वन विधेयक २०७५’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेवलसमेत बैठकमा गर्नेछन्। 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची छ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। प्रहरी समायोजन विधेयकका सम्बन्धमा पनि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री थापाले नै प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची छ।

 

राष्ट्रियसभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ’सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक,२०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ’आर्थिक कार्य्विधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्नेछन्।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ’प्रशासकीय अदालत विधेयक,२०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विज्ञापन विधेयक,२०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

कमेन्ट लोड गर्नुस