सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

२०७६ भदौ २८, ०१:४६ खबर संवाददाता

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे। जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत परेको छ। जीवनराम पहिलो कार्यकालमा पनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए।

यस्तै महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वा्चित भएका छन्। उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे। लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए।

यस्तै ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिलकुमार श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वा्चित भएका छन्। उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले १२, पुष्पदास श्रेष्ठले ११ र राजीव श्रेष्ठले ११ मत पाए। उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन्।

यस्तै ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए। सचिवका अर्का प्रतिस्पर्धी केशवकुमार विष्ट भने पराजित भए। राखेपका पूर्वसदस्यसचिव समेत रहेका विष्टले १७ मत पाए।

नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी (२६), प्रकाशशम्सेर राणा (२६), गोपालसुन्दर लाल कक्षपति (२६), दीर्घबहादुर केसी (२६), होमबहादुर दोङ (२५), टासी घले (२४) र राम अवाले (२०) निर्वा्चित भए। सदस्य पदका अर्का प्रतिस्पर्धी मनोरञ्जनरमण शर्मा भने पराजित भए। शर्माले ९ मत मात्र पाए।
 

कमेन्ट लोड गर्नुस