सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय सरकार र मन्त्रालय चलाउने सञ्जय रानाले लुटेको सम्पत्ति खोई ?

२०७६ भदौ २८, १२:१६ खबर संवाददाता

स्थानीय सरकार, विभाग, मन्त्रालय, राष्ट्र बैंक र गभर्नरको समेत कीर्ते कागजात बनाएर ठगि धन्दामा सक्रिय रहेको भन्दै धनगढीका सञ्जय राना सहित तीन जना पक्राउ परेको आज ठिक १० दिन भएको छ। प्रहरीले दोश्रो पटक ७ दिनका लागि म्याद थप गर्दै अनुसन्धान भईरहेको जनाएको छ।

तर आधा सरकार चलाएर ठगि धन्दा गर्दै आएका तीन जना पक्राउ परेको १० दिन वितिसक्दा समेत प्रहरीले एक रुपैँया पनि नगद बरामद गरेको छैन्। प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मटियारीका सञ्जय राना, सोही ठाउँका कमल विक र वडा नम्वर ३ का रुद्रप्रशाद अधिकारीलाई पक्राउ गरेपनि उनीहरुले ठगि धन्दाबाट लुटेको सम्पत्ति भने अहिले सम्म बरामद नगरिएको हो।

‘प्रहरीले सञ्जय रानालाई बर्षाैदेखि ठगिमा सक्रिय भएको बताउँदै आएको छ,’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलवहादुर छत्यालले भने, ‘ठगि धन्दामा सक्रिय भएको व्यक्तिबाट एक रुपैँया पनि नगद बरामद नहुनु आश्चर्यजनक छ।’

आधा सरकार नै चलाउने गिरोह पक्राउ परेर नगद बरामद नहुनुले आशंका बढाएको उनले बताए। उनले उक्त गिरोहमा अन्यको पनि संग्लनता हुने सम्भावना रहेकोले उनीहरुलाई पक्राउ गर्न पनि प्रहरीले तदारुकता देखाउनुपर्ने बताए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले पनि तीन जना पक्राउ परेपनि उनीहरुबाट नगद बरामद नभएको स्विकार गरे। ‘उनीहरु मिटर ब्याजका कारोवारी हुन्,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘रानाले बजारमा लगानी गरेकोले नगद नभेटिएको हो, उनले धेरै ठाउँबाट नगद पाउनुपर्ने भन्दै बनाएको कागज भने बरामद गरिएको छ।’ घरमा छापा हान्दा झण्डै २५ हजार मात्रै भेटिएको बताउँदै उनले उक्त रकम बरामद नगरिएको बताए। 

प्रहरीले शौचालयमा लुकाएर राखेको अवस्थामा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत कैलालीका चार स्थानीय तह, कैलालीका विभिन्न स्थानमा रहेका मालपोत र नापी कार्यालयका छाप प्रहरीले बरामद गरेको थियो।

राष्ट्र बैंक केन्द्रीय कार्यालय, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय सिंहदरबार, नेपाल राष्ट्र बैंक शाखा कार्यालय बाँके, गभर्नर डाक्टर चिरञ्जीवी नेपाल लगायतका नामका ३५ थान छाप पनि बरामद गरिएको थियो। विभिन्न बैंकका सक्कली तथा कतिपय नक्कली गरी ३८ वटा खाली चेक र विभिन्न व्यक्तिका नाममा काटिएका २ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका चेक पनि बरामद गरिएको थियो।

उनीहरुका साथबाट चार थान पेस्तोल, सात राउन्ड गोली र एउटा चक्कु समेत प्रहरीले बरामद गरेको थियो। प्रहरीले विभिन्न व्यक्तिको नाममा लिनेदिने गरी बनाएका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक र उनको घरबाट खानतलासी गरी छ सय ७९ दशमलव ३६ ग्रामका सुनका गरगहना बरामद गरेको थियो।

तर नगद बरामद नभएपछि स्थानीयले प्रहरीमाथि नै शंका गर्न थालेका छन्। रानाले बस्दै आएको घर पनि उनको नाममा छैन् भने उनले कारोवार पनि रुद्र अधिकारीको नामबाट गर्दै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस