सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशी ज्वाइँलाई १५ र बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिइने

२०७६ भदौ २७, ०५:२८ खबर संवाददाता

संसदको राज्य व्यवस्थामा चलिरहेको नागरिकता सम्बन्धी छलफलका आधारमा बनेको पछिल्लो प्रतिवेदनले वैवाहिक अंगीकृत नागरिकताका लागि महिला र पुरूषलाई छुट्टाछुट्टै कानुनी व्यवस्था सिफारिस गरेको छ। नेपाली पुरूष नागरिकसँग विहे गरी आएका महिलाले नेपाली नागरिकता लिन चाहेमा ७ वर्ष बसेपछि अंगीकृत नागरिकता दिने र नेपाली महिलासँग विहे गरी आएका पुरूषले भने १५ वर्षमा नागरिकता पाउने प्रस्ताव उक्त प्रतिवेदनमा गरिएको छ।

उक्त प्रतिवेदनले विदेशी महिलाका लागि खुकुलो र विदेशी पुरूषका लागि कसिलो अर्को व्यवस्था पनि गरेको छ। विहे गरी आएका महिलालाई सात वर्षसम्मका लागि राजनीतिक बाहेक अन्य अधिकारको सुनिश्चितता हुने वैवाहिक परिचयपत्र दिने प्रस्ताव प्रतिवेदनमा छ। विहे गरी आएका विदेशी पुरूषलाई भने १५ वर्ष नेपालमै बसेको हुनुपर्ने, असल चालचलन भएको र नेपालमा बोलिने कुनै एक भाषा जानेको हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

नागरिकता सम्बन्धी विधेयकमा अहिलेसम्म कुनै सहमति हुन नसकेको अंगीकृत नागरिकता सम्बन्धी विषय नै हो। छलफलमा उठेका विषयलाई समेटेर ल्याइएको यो प्रतिवेदनमाथि शनिबार छलफल हुँदै छ।
 

कमेन्ट लोड गर्नुस