सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह

२०७६ भदौ २६, ०३:३५ खबर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ। संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गरे।

उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै ५ हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उल्लेख गरे। नेपालको कूल ऊर्जा खपतको ८० प्रतिशत ऊर्जा परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै उनले देशभित्रै पनि जलविद्युत् र नवीकरणीय ऊर्जा खपतका लागि प्रशस्त आधार रहेको बताए।

उनले जलविद्युत् र नवीकरणीय ऊर्जा सात प्रतिशतमात्रै उपभोग भइरहेको भन्दै त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको प्रष्ट पारे। हालसम्म ८८ प्रतिशत जनसङ्ख्या ग्रिड र अफग्रिडका माध्यमबाट विद्युतीय पहुँचमा पुगेको र विद्युत्को प्रतिव्यक्ति उपभोग २४५ किलोवाट प्रतिघण्टा रहेको उल्लेख गरे।

उनले छिमेकी देशसँग पनि बजार पहुँचका लागि सहकार्य गरिरहेको जनाउँदै छिमेकी देश भारतसँग ऊर्जा व्यापार र प्रसारण प्रणाली अन्तर आबद्धता सम्झौता भएको र त्यस्तै प्रकृतिको सम्झौताका लागि चीन र बङ्गलादेशसँग सहमति भएको बताए। उनले ऊर्जा क्षेत्रमा अन्तरदेशीय विद्युत् व्यापारका लागि आधारभूत सहमतिमा पुगेको पनि उल्लेख गरे।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका (सार्क) देशसँग ऊर्जा सहयोग तथा आदानप्रदानका लागि ‘फ्रेमवर्क’मा सहमति जुटिसकेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच पनि ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सहमति भइसकेको उनको भनाइ थियो।

ऊर्जा क्षेत्रमा सहकार्य, छिमेकीसँग प्रसारण तथा ग्रिडको सञ्जाल विस्तार जस्ता विषयलाई सरकारले प्रमुख प्राथमिकतामा राखी काम गरिरहेकोसमेत उनले उल्लेख गरे। उनले प्रतिव्यक्ति विद्युत् खपत दरलाई बढाएर एक हजार ५०० किलोवाट प्रतिघण्टा र्पुयाउने लक्ष्यसाथ काम भइरहेको सो अवसरमा जानकारी गराएका थिए।
 

कमेन्ट लोड गर्नुस