सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्छ : सांसद भुसाल

२०७६ भदौ २५, ०२:५१ खबर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकि छन्। 

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई देशबीचको सीमा नाका बन्द गर्नुपर्ने बताईन्। उनले दुई देशबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन्।

यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए।

उनले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई देशबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कुटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औँल्याए। नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामीप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उनले बताए।

 

कमेन्ट लोड गर्नुस