सुदूर नेपाललाई विश्वसँग जोड्दै

नबिल बैंक लुटपाट प्रकरणः तत्कालिन प्रहरी अधिकारी सहित कर्मचारीमाथि पनि निगरानी

२०७६ भदौ २३, १२:३९ खबर संवाददाता

कैलाली प्रहरीले धनगढीबाट चार थान पेस्तोल, सुन र विभिन्न कागजात सहित पक्राउ परेका तीन जनाको कनेक्सन नबिल बैंक लुटपाट प्रकरणसंग खोज्न थालेसंगै प्रहरीका उच्च अधिकारी सहित तत्कालिन कर्मचारीमाथि पनि निगरानी बढाएको छ। 

धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय शमशेर राना, सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीको कनेक्सन नबिल बैंक लुटपाट प्रकरणमा हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान केन्द्रित पारेपछि प्रहरीका उच्च अधिकारी सहित तत्कालिन बैंकका कर्मचारीमाथि पनि निगरानी बढाएको हो। 

पक्राउ परेका तीन जनाको साथबाट ट्राफिक प्रहरीले प्रयोग गर्ने  सेतो बेल्ट, सिट्टीकर्ड, आर्मब्याज, चेस्ट नेम प्लेट र प्रहरीले प्रयोग गर्ने निलो चुस्ता समेत बरामद भएपछि अनुसन्धान सो तर्फ पनि केन्द्रित पारिएको अहिले आएर नबिल बैंकमा तत्कालिन प्रहरी अधिकारीको पनि संग्लनता हुन सक्ने भन्दै निगरानी बढाईएको कैलाली प्रहरीका एक अधिकारीले बताए। 

‘नबिल बैंक लुटपाट प्रकरणमा अनुसन्धान गरेका प्रहरी अधिकारी र बैंकमा सो समयमा कार्यरत कर्मचारीमाथि निगरानी बढाएका छौँ,’ ति अधिकारीले दिनेश खवरलाई भने, ‘उनीहरुसंग सामान्य सोधपुछ पनि भईरहेको छ।’ प्रहरी श्रोतका अनुसार तत्कालीन डिआईजीहरुमाथि पनि अनुसन्धान भईरहेको छ।

२६ मंसिर २०७० मा कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको दुई करोड ३० लाख ६० हजार रुपैया र दुई सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्ग्स्थित मालाखेती जंगलमा दिउसै लुटिएको थियो।

हतियार सहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले पैसा लिएर आएका बैंकका कर्मचारीहरु सवार म १ च १४६ नम्बरको जीपलाई नियन्त्रणमा लिएर रकम लुटेका थिए। उक्त जीपमा चालक बीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ्ग, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए।

बैंकका कर्मचारीकै मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको थियो। तर, प्रहरीले अनुसन्धानको कुनै पनि ‘क्लू’ समेत फेला पार्न सकेको थिएन्। प्रहरीले थुपै्र पटक अनुसन्धान टोली गठन गरेपनि कुनै पनि टोली अपराधी नजिकसम्म पुग्न सकेनन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्दा समेत केही पत्तो लागेन।

तत्कालिन क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले सुदूरपश्चिम सरुवा भएर आए लगत्तै गरेको पत्रकार सम्मेलनमा प्रहरी अनुसन्धान सफलता नजिक पुगेको दाबी गरेका थिए। दुई बर्ष अगाडी कैलाली आएका तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले पनि नबिल काण्डबारे केही समयमै सत्यतथ्य बाहिर आउने दाबी गरेका थिए। तर तथ्य नभेटिएकाले अहिले उक्त घटनाको फाइल बन्द गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस