सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनुषा : हंसपुर नगरपालिकाको विवाद उग्र बन्दै, उपमेयर सहित तीन जनामाथि जाहेरी दर्ता

२०७६ भदौ २३, ०९:१४ खबर संवाददाता

नगरपालिकाको केन्द्र सार्ने विषयमा गत साउन २१ गते दुवै पक्षको झडपमा परेर घाइते भएका हंसपुर नगरपालिका २ का स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको गत भदौ १८ गते उपचारको क्रममा मृत्यु भएपछि धनुषाको हंसपुर नगरपालिकाको विवाद झनै उग्र बन्दै गएको छ। उनको मृत्युपछि उपमेयर रेणु झा पक्षले शक्ति प्रदर्शन गर्दै मेयर रामज्ञान मण्डललगायत ४ जनामाथि प्रहरीमा किटानी जाहेरी दर्ता गराएको एकसाता नबित्दै आइतबार मेयर पक्षले पनि शक्ति प्रदर्शन र उपमेयरलगायत ३ जनामाथि किटानी जाहेरी दर्ता गराएका छन्।

हंसपुर चोकबाट ट्रयाक्टर, मोटरसाइकललगायतमा आएका मेयर मण्डल पक्षधर प्रदर्शनकारीहरुले उपमेयर झाविरुद्ध नारा जुलुस एवं शक्ति प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन्। झण्डै २ हजारको संख्यामा आएका प्रदर्शनकारीले मेयर लगायत ४ जनामाथि लगाइएको झुटो मुद्दा खारेज गर लगायतका नारा लगाएका थिए।

मेयर पक्षका मनोज कुमार सिंंह, शशि कापड र सदैय यादवले उपमेयर रेणु कुमारी झा, वडा नम्बर २ का वडाध्यक्ष उदय साह र वडा नम्बर २ बस्ने किशोरी यादव गरी तीनजनामाथि समेत जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। गत बिहीबार उपमेयर झा पक्षधर मृतक तपेश्वरका छोरा राजकुमार मण्डलले जिल्ला प्रहरी कार्यालय धनुषामा मेयर मण्डल, वडा नम्बर–३ का वडाध्यक्ष उदय सिंंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नम्बर–४ का स्थानीय लालबाबु यादवमाथि जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता गराएका थिए।

वडा नम्बर–२ बघचौडामा रहेको नगरपालिकाको केन्द्र कार्यालय मेयर मण्डलले वडा नम्बर–३ को बेल्हीमा सार्न खोजेपछि उपमेयर झाले अवरोध गरेपछि विवाद सुरु भएको थियो। 

कमेन्ट लोड गर्नुस